देवी गुरुङ (आलेख)
हामीले सुन्दै आएको कुरा के हो भने हरेक सफलताका पछाडि महिलाको हात हुने गर्छ । कहिल्यै यो सुनिदैन कि पुरुषको पनि हात हुन्छ भनेर । यो समाजमा महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा त बनाईयो तर एउटा पाङ्ग्रा बिग्रेमा अर्कोले मात्रै गुड्न सक्तैन भन्ने कुरा मान्छेहरु भूल्छन् । आजको आवश्यकता समानतासँगै समतामूलक समाज निर्माण गर्नु हो । तर समानताको थुप्रो दिएर महिलाहरुलाई प्रयोगको माध्यम बनाउनेको कमी भने पक्कै छैन ।
कुनै पनि स्थानमा हेरौं महिलालाई नै बढी प्रयोगमा ल्याइएको हुन्छ । विज्ञापनको माध्यम बनेर रहेका महिलाहरुलाई लागु औषधको कारोबारमा त झन् सजिलै फसाउन सकिने प्रमाणित भएको छ । महिलाहरुको प्रयोगबाट लागुऔषध कारोबार गर्ने, उनीहरुको जीवनलाई जोखिममा हालेर लाखौं रकम कुम्ल्याउने दलालहरु यहाँ प्रशस्त भेटिन्छन् । तर खुल्न आएको कुरा यो छ की ती दलालहरु महिला नभएर पुरुष हुन्छन् । महिलाले महिलालाई नकारात्मक कार्यमा प्रयोग नगरेको पनि होइन तर यहाँ कुरा हुँदैछ धेरै र थोरैको । तसर्थ अधिकांश पुरुषका कारणले नै महिलाहरु लागु औषध कारोबारका शिकार हुने गरेका छन् । महिलाहरुलाई सचेतना प्रदान गर्नुमात्रै ठूलो कुरा होईन । उनीहरुको आय आर्जनलाई बढावा दिनु पनि अर्को पाटो हो । हरेक क्षेत्रबाट पिल्सिएका, पीडित भएका, घरपरिवार र समाजले टाढिन बाध्य बनाएका महिलाहरु आय आर्जनका लागि भौतारिरहेको अवस्थामा उनीहरुको कमजोरीको फाईदा उठाएर दलालहरुले चलखेल गर्ने गर्दछन् । 
यसै वर्षको पौष ३ गते रोल्पा खुङ्रीबाट वाँके रजेनाकी ३३ वर्षिया मनदेवी पुनसँगै कोहलपुर–५, बस्ने ६५ वर्षिया आमा दुरपता राजकोटी र २७ वर्षिया छोरी हरिकला राजकोटी लागुऔषध सहित रोल्पामा समातिन पुगे । अभियुक्त महिलामाथि जिल्ला प्रहरी कार्यालय रोल्पाले अनुसन्धान सुरु गरेको थियो तर अभियुक्त दुबै महिला लागुऔषध कारोवारीको भरियाको रुपमा प्रयोग भएको खुल्न आयो । उनीहरु पनि प्रहरी अनुसन्धानमा  आफू भरियाको रुपमा काम गरेको बयान दिए, त्यसपछि लागुऔषध ओसारपोसारमा संलग्नको रुपमा कारागार चलान भए । फेरि दोस्रो महिनामा पनि यस्तै घटना घट्यो ।  माघ २७ गते ब्राउन सुगरसहित रुकुम तकसेराकी सरिता पुन र काँक्री गाविस की सलिना बुढामगर पनि लागुऔषध सहित रोल्पाबाट जाँदैगर्दा दाङमा समातिन पुगे । उनीहरु पनि प्रहरी अनुसन्धानमा भरियाको रुपमा प्रयोग भएको खुल्न आयो । प्रहरीकाअनुसार पछिल्लो ६ महिनामा मात्रै रोल्पामा लागुऔषध कारोवारीका रुपमा ४ जना महिलाहरुले जेल सजाय भोगिरहेका छन् । यसरी जेल सजाय भोग्नेहरुको पनि आफ्नै पीडा र दुःख छ । उनीहरु प्रयोग भए, उनीहरुलाई यहाँसम्म थाहा भएन की लागुऔषध कारोबारले जीवन नै बर्बाद बनाउँछ । नीति, नियम कानुनसम्म थाहा नपाएका ती गाउँले महिलालाई प्रयोग गरेर जसले लाखौं रकम कुम्ल्याउने विचार गरेको थियो आजसम्म ती व्यक्तिहरु खुल्नसम्म आएनन् । केही समय अगाडी रोल्पाको लिबाङमा लागुऔषध कारोबार न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक कार्यक्रम पनि सम्पन्न भयो । जहाँ प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले लागुऔषध कारोबार हटाउनका लागि जरैबाट निर्मूल पार्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले रोल्पाका त्यस्ता स्थानहरु जहाँ भाङ्गो उत्पादन गरेर गाँजा, चरेश लगायतका खेती गरिन्छ त्यस क्षेत्रका खेती नष्ट गर्न समेत निर्देशन दिनुभयो । जिल्लाको पूर्वीभेगका केही गाविसहरु जस्तै थबाङ, गाम लगायत अन्य पश्चिम गाविसमा समेत भाङ्गो खेती गर्ने र त्यहीबाट गाँजा, चरेश बनाउने कार्य हुने गर्दछ । जब सबै नष्ट हुन्छ तब मात्रै यो लागुऔषध कारोबार केही मात्रामा न्यूनीकरण हुनेमा उहाँले जोड समेत दिनुभएको थियो । केही पत्रपत्रिकामा समेत आउने गरेको छ प्रहरी नायव उपरिक्षक नविनराज राईका भनाईहरु । उहाँ बताउनुहुन्छ । “जेल सजाय भोगिरहेका महिलामध्ये कुनै पनि महिला लागु औषध कारोवारी होईनन् । उनीहरु अन्य व्यक्तिले प्रयोग गरेका महिला हुन् ।” रोल्पाका उत्तरी क्षेत्रमा रहेका थबाङसँगै रुकुम, बाग्लुङ क्षेत्रमा पछिल्लो समयमा महिलाहरु लागुऔषध कारोवारीको भरियाको रुपमा प्रयोग हुने सङ्ख्या बढ्दै गएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले भन्नुभयो, “महिलाहरु धेरै मात्रामा प्रयोग भएका छन् । उनीहरुलाई प्रभावकारी रुपमा जनचेतना जगाउनुपर्छ ।” रोल्पा लागुऔषधको “ट्रन्जिट प्वाईन्ट” को रुपमा रहँदै आएको छ । रोल्पा तथा रुकुमका महिलाहरु वार्षिक रुपमा एकदर्जन भन्दा धेरै ठूला ठूला लागुऔषध प्रकरणमा समातिने गरेको प्रहरीको तथ्याङ्क छ । प्रहरीकाअनुसार यस क्षेत्रमा लागुऔषध कारोवारीको रुपमा प्रयोग हुने गरेका महिलाहरु निश्चित ठाँउसम्ममा निश्चित रुपैया लिएर काम गर्ने गर्छन् । “भरियाको रुपमा प्रयोग भएका महिलाहरु तेस्रो व्यक्तिको रुपमा प्रयोग हुन्छन् । उनीहरु लागुऔषध सञ्जालको टीममा समेत छिरेका हुँदैनन् अथवा छिराइँदैन । जसले गर्दा सञ्जालको मूख्य व्यक्ति नै पक्रन समस्या पर्छ । योजनाकार पक्राउ नपर्ने तर अन्य अचेत महिलाहरुलाई जीवनभरको सजाय दिने कानुनी प्रावधानले कैयौं महिलाहरुले पीडादायी समयको सामना  गर्नुपर्ने बाध्यता रहेको छ ।
लागुऔषध सजाय ऐन २०३३ को दफा १४ का अनुसार चरेश १० किलो भन्दा माथिको कारोवारमा संलग्नलाई २ वर्षदेखि १० वर्षसम्म सजाय र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।  तर अन्य लागुऔषध कारोवारमा संलग्न भएको भेटिएमा ३ महिनासम्मको कैद सजाय र ५० हजारसम्मको जरिवाना सजाय तोकिएको छ । अन्यको तुलनामा लागुऔषधसँग सम्बन्धित व्यक्तिहरुलाई अलि कडा सजाय भए पनि रोकिने सम्भावना भने देखिदैन । यस क्षेत्रमा संलग्न महिलाहरुलाई बैकल्पीक क्षेत्रमा नलगाउँदासम्म कुनै परिवर्तन आउन सक्ने छैन । यति मात्रै होईन महिलाहरुमा सचेतिकरणका माध्यमहरु र आयमूलक तथा सीपमूलक कार्यको विकास गर्नु जरुरी देखिन्छ । घरेलु तथा सामाजिक हिंसाका शिकार हुने गरेका महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन नआएसम्म अझैं कैयौं महिलाहरु लागुऔषध कारोबारमा फस्न पुग्ने छन् । केही रकमको प्रलोभनमा परेका महिलाहरुले आफूलाई प्रयोगको माध्यम बनाएकोसम्म थाहा पाउँदैनन् । जब कानुनी कठघरामा उभिने दिन आउँछ तब उनीहरुको मानसपटलमा झल्किन्छ की यो दिन कसरी आयो भनेर । लागुऔषध कारोबार मात्रै नभएर घरेलु मदिरा उत्पादन देखि बिक्रि वितरणमा समेत महिलाहरुको संलग्नता धेरै देखिन्छ । मदिरा सेवन गर्ने आखिर बढीमात्रामा को हुन्छन् ? यसको कुनै लेखाजोखा गरिँदैन तर उत्पादन गर्ने को हुन् ? उत्तरमा महिला नै हुन्छन् । हरेक नकारात्मक गतिविधिमा महिलाहरुलाई मात्रै प्रयोग गरिएको पाईन्छ । घरपरिवार, समाज, संस्थामा  विज्ञापनका माध्यम बनेर छाएका महिलाहरुको सम्मान अवश्य पनि हुँदैन तर पाईलै पिच्छे अपमान र घृणाको शिकार बनेर दौडिरहेका हुन्छन् । न त स्वयम महिलाहरुले नै महशुस गर्छन् न त आफू प्रयोगमा आएको थाहा नै पाउँछन् । जबसम्म आफैं सचेत हुँदैनन् तबसम्म परिवर्तन आवश्य पनि आउने छैन । सकारात्मक परिवर्तनका लागि महिला स्वयम्को पनि जागरुकता हुन जरुरी छ तर उनीहरुलाई जागरुक बनाउने कसले ? यो कसको भूमिका हो ? समाजको हरेक क्षेत्रमा उनीहरुलाई समानताको भ¥याङमा उभ्याउने कस्को जिम्मेवारी हो यसमा हामी सबैले एकपल्ट सोच्नैपर्छ तबमात्र निर्दोसी महिलाको उत्थान हुनेछ, होइन भने आउँदो ६ महिनाभित्र ४ होईन १२ जना महिलाहरु पुनः लागुऔषधकै कारोबारमा फसेको भेटिनेछन् ।
                                    timrosanjana@gmail.com

0 comments:

Post a Comment