०१ बैशाख रोल्पा । ‘दिनभरी यत्तिकै बसिरहनुभन्दा सीपमूलक काम गरे त आय आर्जन गर्न सकिन्छ’ रोल्पा सामुदायिक अल्लो धागो तथा कपडा उद्योग साझा सुविधा केन्द्रमा काम गर्दै आइरहेकी गीता आचार्यको भनाई यस्तो छ । पिथ्यूँमा ३ वर्षको छोरालाई बोकेरै उहाँ सीपमूलक कार्यमा डटेर लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ ‘ढ्यारी काम गरेर एकदिनमा कमाएको जति त यो सीपबाट पनि कमाइन्छ । जे होस् ढ्यारी भरि त बस्छ ।’ बिहान ६ देखि बेलुकी ६ बजेसम्म लगातार काम गरेमा दैनिक ४ सय भन्दा बढी पनि कमाउन सकिने उहाँको भनाई छ ।
२०६६÷६७ सालमा स्थापना भएको रोल्पा सामुदायिक अल्लो धागो तथा कपडा उद्योग साझा सुविधा केन्द्रमा हाल ११ जना उद्यमी महिलाहरुले सामुहिक लगानीमा काम गर्दै आईरहेका छन् । ‘आफ्नै श्रोत साधन र सीपको सम्मान पुवा अल्लोबाट उत्पादित कपडा रोल्पाको पहिचान’ भन्ने मूल नारा बोकेको यो उद्योगमा विभिन्न प्रकारका झोला, पुवा अल्लो र उनबाट निर्माण हुने सामाग्रीहरु बनाइन्छ । रोल्पाको लिबाङ–६, बालमन्दिर टोलको बाटो हुँदै सोलाबाङ बसपार्क जाने बाटोको केही दुरीमा रहेको उद्योगको आफ्नै भवन निर्माण भएको छ । टीनको छानो भएको एक भवन, भवनसँगै सटेको शिशु स्याहार केन्द्रको एक कोठा र चर्पी समेत निर्माण भएका छन् । शुरुमा यो उद्योग लिबाङ–६, खाद्यटोल जाने बाटो निर निर्माण भएको थियो । हाल आएर भवन अर्को स्थानमा निर्माण गरिएको उद्योगमा कार्यरत उद्यमीहरु बताउँछन् । विभिन्न दातृ निकायको सहयोग मार्फत् निर्माण गरिएको उद्योगमा ११ जना उद्यमीहरुको समेत सामुहिक रकम लगानी भएको छ । २०७० साल असारबाट यस उद्योगमा प्रवेश गरेका ११ जना उद्यमीहरुको सामुहिक लगानी रु १ लाख ४७ हजार ७० रुपैंया नगद शुरुमा लागेको उद्यमी सुनिता आचार्यले बताउनुभयो । पछि विभिन्न शिर्षकमा रकम अझैं लाग्ने गरेको उहाँको भनाई छ ।
विभिन्न डिजाईन र माग अनुसारका झोलाहरु बुन्दै गर्दा आफूले बुनेको आधारमा रकम पाउने उद्यमीहरु बताउँछन् । ‘धेरै माग त अल्लो धागोको नै छ तर के गर्नु गाउँगाउँमा अल्लो र पुवा धेरै नपाउने र गाउँमा रहेकाले भने जस्तो धागो पुर्ति नगर्ने कारणले ग्राहकको माग पुरा गर्न सकिँदैन’ निशा बुढामगरले बताउनुभयो । विभिन्न चरणबाट तालिम प्राप्त गरेर आएका उद्यमीहरुको समूहले यो उद्यमी कार्यलाई निरन्तरता दिँदै आएका छन् । २०६४ सालमा श्रीमायाँ रोका र तुलबहादुर घर्तीले शुरुवात गरे पनि २०७० असारबाट अन्य ९ जना महिलाहरुको संलग्नतामा यो उद्यम चल्दै आएको छ । २०६९ सालको द्वन्द्वपीडितहरुका लागि आय आर्जन तालिमबाट निशा बुढामगर, सुनिता आचार्य र पम्फा घर्तीले तालिम लिएर यस उद्योगमा प्रवेश गर्नुभयो । यस्तै मेडेपद्वारा दिइएको २० दिने अल्लो कटाई तालिमबाट गीता आचार्यले तालिम लिएर उद्योगमा सँलग्न हुनुभयो । यहाँ कार्यरत अन्यले भने दनबस्को अन्तर्गतको तालिमबाट सीप सिकेर सामुहिक कार्यमा लाग्नुभएको छ । यस उद्योगमा कार्यरतहरुमध्ये द्वन्द्वपीडित, सहिद परिवार र अन्य रहनुभएको छ । उद्योगलाई जिल्लामै नमूना बनाउनका लागि ११ जनाको समूहले प्रत्येक मासिक बैठकमा नयाँनयाँ अवधारणा ल्याउने गरेको समेत् उनीहरु बताउँछन् तर उद्योग भवनमा ११ जनाका लागि आवश्यक सम्पूर्ण मेशिनरी सामानहरु अट्ने स्थान नै नभएको उनीहरुको गुनासो छ । उद्यमी पम्फा घर्ती बताउनुहुन्छ ‘सामान भन्दा सामान मात्रै बस्या छ स्तरको नै छैन ।’ उहाँले यसमा केही सुधार हुन पाए अझैं सहज हुने बताउनुहुन्छ । तालिमको शुरु अवस्थामा आफू घाईतेसम्म भएको बताउने पम्फाले हाल यो काम सजिलो र समयअनुकुल गर्न सकिने बताउनुभयो । आफूहरुले निर्माण गरेका विभिन्न आकर्षक झोलाहरु भर्खरै मात्रै सुर्खेतसम्म पुगेको उद्यमीहरुले बताएका छन् । हाल उनबाट र केही अल्लो पुवाबाट निर्माण गरेका सामाग्रीहरु सुलीचौर, होलेरी, मिरुल, तालाबाङ, ओत जस्ता स्थानमा पुग्ने गरेको उनीहरुको भनाई छ । यस्तै सदरमुकाम लिबाङमा रहेको कोशेलीघर मार्फत् पनि जिल्ला बाहिर र अन्य माग भएका स्थानमा पुग्ने गरेको कार्यरत उद्यमीहरु बताउँछन् ।
उद्योगमा जिल्लाका विभिन्न निकायले सहयोग गरेका छन् । शुरुवात देखि हालसम्म घरेलुले ५ वटा तान १ वार्पिङड्रम अन्य सामाग्रीहरु र तालिम, आरआरएन रोल्पाले ७५ हजार, तालिम तथा सामाग्री, एलएफपिले एक लाख पचास हजारको बीउ पुँजी, ४० हजारको बिद्युतीय चर्खा ४ वटा, एमसिडिइपिले २० दिने धागो कटाई तालिम, मेडेफले ६ वटा बिद्युतीय चर्खा, ३ लाख ५० हजारको भवन निर्माण, जिल्ला विकास समितिबाट २ लाख भवन निर्माण तर्फ, मेडेफद्वारा एक लाख ५० हजार शिशु स्याहार केन्द्र निर्माण र ९० हजारको ३ वटा तान सहयोग भएका छन् । यसरी विभिन्न दातृ निकायले दिएको सहयोगसँगै उद्यमीहरुको आफ्नै शेयर लगानी १ लाख ४७ हजार ७० रुपैंया भएको छ । उद्यम विकासका लागि कार्यरत महिला उद्यमीहरुले उद्योगलाई प्रभावकारी र दिगो रुपमा सञ्चालन गर्ने अठोट समेत व्यक्त गरेका छन् । उद्यम विकासबाट महिलाहरु आय आर्जनतर्फ मात्रै नभएर आफ्नो छुट्टै पहिचान बनाउने तर्खरमा समेत लागिपरेको बताउँछन् ।

0 comments:

Post a Comment