२४ मंसिर, रोल्पा । लिबाङ गाविस भरीबाट आफू पहिलो भएकोमा अमृ गुरुङ निकै खुशी देखिनुहुन्थ्यो । उत्कृष्ट भएकोमा प्रमाणपत्र बुझेपछि मूस्कुराउँदै उहाँले यस्तो कामबाट आफूलाई निकै आत्मसन्तुष्टि हुन बताउनुभयो । ‘मैले यो क्षेत्रबाट उत्कृष्ट कार्य गरेर पाएको प्रमाणपत्र मेरो लागि धेरै महत्वपुर्ण छ’ यो भनाई हो गुरुङको । महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई गाउँघरतिर डाक्टरका रुपमा नै बुझिरहेका हुन्छन् ।
किनभने महिलाहरुको सबैभन्दा अप्ठ्यारो अवस्थामा महिला स्वयम् सेविकाको ठूलो देन हुन्छ । त्यो अवस्थाबाट पार गराउने महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सरकारले प्रोत्साहनका रुपमा प्रत्येक वर्षको एक पल्ट पुरस्कार दिने ब्यवस्था गरेको छ । पुरस्कृत अमृले भन्नुभयो ‘यो पुरस्कारको भागीदार गराउने सबैलाई म धन्यवाद दिन्छु ।’
आफूले यो क्षेत्रमा समाजसेवा गर्दै आएको बताउने वडा नं. ५ की लक्ष्मी केसीले द्धितीय पुरस्कार समाउँदै खुशी ब्यक्त गर्नुभयो । समाजसेवा मात्रै नभएर महिलाहरुको भरपर्दो साथी आफूहरु बन्न सफल भएको उहाँले बताउनुभयो ।
यस्तै वडा नं. ३ का लालकुमारी पुन तृतिय भएपछि खुशी भएको बताउनुभयो । महिला स्वास्थ्य स्वयम् सेविकाको दिवसमा आफूले पाएको सम्मानको कदर गर्दै पुनले यस क्षेत्रमा अझैं निरन्तरता दिने बताउनुभयो ।
१० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस रोल्पा लगायत देशैभरि विभिन्न कार्यक्रम गरी मनाईएको छ । महिला स्वास्थ्य स्वयंसेविकाले स्वस्थ समाज निमार्णको लागि पु¥याएको योगदानको कदरमा सम्मान ¥याली, सभा लगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो । रोल्पामा हाजिरी जवाफ प्रतियोगिता सहित पुरस्कार बितरण गरेर मनाईएको हो ।
महिला स्वास्थ्य स्वयम् सेविकाको सेवा स्वस्थ समाजको लागि टेवा भन्ने मूल नाराका साथ यो दिवस रोल्पाको लिबाङ स्थित जिविसको नयाँहलमा कार्यक्रम गरी मनाईएको थियो । हरेक वर्ष डिसेम्बर ५ मा विश्व स्वयंसेवक दिवस मनाउने गरिन्छ । विश्व स्वयंसेवक दिवसकै अवसरमा  नेपालमा पनि केही वर्षअधिदेखि महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउने गरिएको हो । नेपालमा २०४६ सालबाट महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम शुरु भएको हो । देशमा अहिले ५२ हजार जना महिला स्वास्थ्य स्वयंसेविका क्रियाशिल छन् । देशका सबै  जिल्लाका हरेक वडामा कम्तीमा एकजना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा दिइरहेका छन् ।
दिवसका अवसरमा जिल्लाका ह्वामा, लिबाङ, धबाङ, जंकोट, कोटगाउँ लगायत गाविसका ९ वटै वडाका महिला स्वयम सेविकाहरुको सहभागितामा हाजिरी जवाफ सम्पन्न गरिएको थियो । ३ समूहमा विभाजन गरेर गरिएको हाजिरी जवाफ प्रतियोगितामा १९ अंक ल्याएर लिबाङ समूह प्रथम, १८ अंक ल्याएर कोटगाउँ समूह द्धितिय, १६ अंक ल्याएर धबाङ समूह तृतिय भएको हो । उनीहरुको ज्ञान, सीपको विकास गर्नका लागि यस प्रकारको हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यलय रोल्पाले जनाएको छ ।
महिला स्वयम सेविका दिवसमा ३ जना महिलाहरुले उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरिएको थियो । लिबाङ वडा नं ८ का अमृ गुरुङ प्रथम, वडा नं ५ की लक्ष्मी केसी द्धितिय, वडा नं ३ का लालकुमारी पुन तृतिय हुनुभएको हो । उहाँहरुलाई स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले पुरस्कार सहित अबिर ल्यापन गरेर सम्मान गर्नुभएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै रेग्मीले सरकारले महिला स्वयम सेविकाहरुलाई भत्ता र तलबको ब्यवस्था नगरेपनि उनीहरुलाई प्रोत्साहनका कार्यको थालनी गरेको उदघोष गर्नुभयो ।
उहाँले जिल्लामा रहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुको सक्रियतालाई अझैं थप गर्नका लागि उनीहरुको कोषमा जिल्ला विकास कार्यालयद्वारा रकम थप गर्ने समेत बताउनुभयो । समाजसेवाको यस कामको मूल्याङ्कन गर्दैै स्थानीय विकास अधिकारी रेग्मीले महिला स्वयम सेविकाहरुको संकलित कोषमा रकम बढाउनका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । समुदाय र स्वास्थ्य संस्थाबीच पूलको काम गरेका महिला स्वास्थ्य स्वयंसेविकाको सेवाको प्रशंसा र सम्मान गर्दै उहाँले यस क्षेत्रमा लागेका स्वयम सेविकाहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा २० वर्ष भन्दा बढी यस क्षेत्रमा कार्यरत हुनुभएका जंकोटका देबी बुढाले आफ्नो कार्यअवधिका गतिविधिबारे ब्याख्या गर्नुभयो । आफ्नो कार्यअवधिमा भएका धेरै घटनाको सामना गरिसक्नु भएकी बुढाले यो क्षेत्रमा कठिनाईसँगै आत्मसन्तुष्टी पनि हुने बताउनुभयो ।
जनस्वाथ्य अधिकृत रक्षा गिरीको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख डा. बिनोद गिरीले स्वागत मनतब्य दिनुभएको थियो भने स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी, आमा समूह, महिला स्वास्थ्य स्वयम सेविकाहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

0 comments:

Post a Comment