गायक नन्द घर्तीमगर
माघीमेलाको अवसरमा रोल्पामा देखिनुभयो, आफ्नो जन्मथलोका मायाँ कत्तिको लाग्छ ?
मगरहरुको बाहुल्यता भएको रोल्पामा पहिलो पल्ट मनाईएको माघी महोत्सव हेर्दा निकै खुशी लाग्यो । आफ्नै जन्मभूमिमा त्यो पनि आफ्नै जातिको ठूलो चाडको अवसरमा आउन पाउँदा धेरै खुशी लागेको छ त्यसका लागि आयोजक साथीहरुलाई र मलाई निम्ता गर्ने सबैलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । रह्यो कुरा रोल्पाको मायाँ कत्तिको लाग्छ भन्ने । म रोल्पाको खुमेलमा जन्मेको मान्छे, गोठमारे खोलासँग मेरो निकै गहिरो सम्बन्ध छ । सिम्लेखोलामा घाँस काटेर रमाउने मान्छे,  काठमाडौंमा गए पनि रोल्पाको माटोलाई मैले भुल्दैन । मेरो जन्मभूमिको मायाँ मलाई धेरै लाग्छ ।
यो साङ्गीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? कसको प्रेरणाबाट अघि बढ्नुभयो र यसमा बिताएको १० वर्षको दौरानमा त्यस्तो भूल्नै नसक्ने क्षण केही छन् ?
सुरुमा यो क्षेत्रमा लाग्नका लागि मेरो आफ्नै मनको ईच्छा पनि थियो । मैलै यस क्षेत्रमा प्रवेश गर्नका लागि स्वर्गीय ईन्द्र पुन दाई र रोल्पाकै कृष्ण पुन दाइबाट प्रेरणा पाएको हुँ । मेरो यो क्षेत्रमा भूल्नै नसक्ने एउटा क्षण छ । जब म यो क्षेत्रमा प्रवेश गर्दै थिएँ । म मगर भएको कारणले गर्दा मेरो आफ्नै मातृभाषा र स्थानीय स्तरको संस्कृतिले गर्दा भाषा उच्चारणमा निकै गाह्रो भयो । पहिलो पटक अडियोमा हस्ताक्षर गर्ने समय आयो, त्यतिबेला मेरो उच्चारण सुनेर रेकर्डिङ स्टुडियोमा एक हप्तासम्म उच्चारणमा ध्यान दिन र प्रयास गर्नमा सुझाव आएपछि मैलै निकै कठिनाई भोगे तर जे होस् त्यो सबै मेरै लागि नै थियो । मैले एक हप्तासम्म सुध्रिने मौका पाएँ । यो मेरो लागि एउटा भूल्नै नसकिने क्षण हो ।
साङ्गीतिक यात्रामा रोल्पाको इतिहास हेर्दा सबै भन्दा पहिले तपाईले नै कौडा र सालैजो भाकामा एल्बम निकाल्नुभएको छ, अन्य गीत छोडेर यही भाकामा किन निकाल्नुभएको हो ? यसले दिन खोजेको सन्देश के हो ?
हो, सबै भन्दा पहिले जिल्लामा मेैले नै कौडा र सालैजो भाकामा एल्बम निकालेको हुँ । कौडा भाकामा मैले हाम्रो मगरहरुको संस्कृतिलाई जोडेर निकालेको हुँ र सालैजो भाका मैले मगर मात्रै नभएर रोल्पामा रहेका समग्र गुरुङ र अन्य आदिवासी जनजातिहरुलाई समेटेर निकालेको हुँ । यस गीतबाट मैले हाम्रो रोल्पाको परिवेश, रोल्पामा रहेका पर्यटकीय स्थल, मनमोहक यहाँको सुन्दरता, रोल्पालीहरुको भावना, मायाँ, यहाँको भूमिको महत्वसँगै समग्र संस्कार, संस्कृतिको उत्थान गर्न खोजिएको छ । रोल्पा जिल्ला पनि हाम्रो राष्ट्रको अभिन्न अङ्ग हो भनेर चिनाउन खोजिएको छ ।
तपाईका गीतमा रोल्पाको परिवेश र रोल्पाकै बारेमा बढी चर्चा गरिएका शब्दहरु हुन्छन् कारण के होला ?
हामी जहाँ गए पनि हाम्रो माटोलाई बिर्सनै हुन्न । हुन त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताको मनमुटुमा बस्नुपर्ने कलाकारहरुको जीवन हो । हाम्रो नीति नियम पनि हुन्छ, कलाकारहरुले स्थान विशेष गर्न हुन्न । ७५ जिल्लालाई छोएर बनाउनुपर्छ तर मैले अलिकति नियम उल्लङ्घन गरेकै हो, त्यो पनि मेरै जन्मभूमिको लागि । मैले आफ्नो जन्मभूमिको सधैं वकालत गर्नेछु । अरु केही साथीहरु यस्ता पनि छन् रोल्पाको हुँ भन्न लाज मान्छन् । उनीहरुले सिधै म दाङको या अन्य कुनै जिल्लाको भनेर भन्न रुचाउँछन् तर मलाई यस्तो मन पर्दैन । आफू जहाँको हो, त्यहीको भन्नलाई के को लाज । इतिहास जे थियो भन्नका लागि के को डर । आज आफू जुन ठाउँमा भए पनि आफ्नो इतिहास त पक्कै मेटिदैन होला । त्यसैले मलाई यस्तो व्यवहार देखाउने केही साथीहरुलाई पनि भन्न मन लाग्छ, आफ्नो जन्मथलोको परिचय दिन सिकौं छाती खोलेर ।
यो क्षेत्रमा प्रवेश गर्ने धेरै कलाकारहरुको पारिवारिक सम्बन्धमा चिसोपना आएको पाइन्छ । आफैं कलाकारहरुले जीवनलाई यथार्थतामा बुझ्न नसकेर हो या त आधुनिकतामा डुबेर हो, के लाग्छ ?
हो, यस क्षेत्रमा लागेका ५० देखि ६० प्रतिशत  कलाकारहरुको पारिवारिक अवस्था बिग्रेको नै छ । रङ्गमञ्चको संज्ञादिनेहरुले यस्तो व्यवहार देखाइरहेका हुन्छन् । यो क्षेत्रमा वास्तविकरुपमा किन लागेको भन्नेसम्म उनीहरुले थाहा नपाएको अवस्था छ । यस क्षेत्रमा प्रवेश गरेका कलाकारहरुको जीवनीलाई गहनरुपमा बुझ्न जरुरी छ । केही समय चर्चा परिचर्चामा आए भने उनीहरुले आफ्नो धरातल भूल्न थाल्छन् । आधुनिकतामा डुबेकाहरुलाई के थाहा, जीवन कसरी बिताउन सकिन्छ भनेर । घरपरिवार मात्रै होइन समाज, राष्ट्रियताको उत्थानका लागि के गर्नुपर्छ भन्नेसम्म थाहा हुँदैन । पछिल्ला समयमा आएर त्यसै कारणले नै यो क्षेत्र हल्का भएको छ ।
केही कलाकारहरुले संस्कृति जोगाउनुको साटो उल्टै डुबाउन लागेको भन्ने आभाष गीत संगीतबाट आउन थालेको छ, के गीत संगीतको कुनै मापदण्ड हुँदैन ?
हो, आज कलाकारहरु आधुनिकतामा गइसकेका छन् त्यसैले कला संस्कृति जोगाउने, मापदण्ड निर्धारण गर्ने भन्ने कुराको समेत ख्याल नगरेको पाइन्छ । हिजोको दिनमा आधुनिक गीत, लोकदोहोरी गीत, सालैजो, कौडा, आआफ्नो मापदण्ड अनुसार निकालिन्थ्यो भने आज रिमिक्स भन्ने जमाना आइपुग्यो जसले गर्दा कुन गीत आधुनिक हो, कुन गीत लोकदोहोरी हो, पत्ता लाउन समेत गाह्रो भएको छ । यस्तै अंग्रेजी, नेपाली अन्य विभिन्न भाषाको मिसावट गरेर गाइने गीतहरुले झनै यो क्षेत्रको विकास गरेको हो या विनास भन्ने कुरासम्म थाहा छैन । दर्शक, श्रोताको मागअनुसार भन्दै यस क्षेत्रको नियम मिचेको अवस्था छ ।
कलाकारहरुलाई राज्यले गहनाको रुपमा लिन्छ । तर वास्तवमा राज्यले कलाकारहरुका लागि के गर्न जरुरी छ ?
हो, कलाकारको हितका लागि राज्यस्तरले गर्नुपर्ने धेरै छ । तर नेपालमा पटकपटक भइरहेको संविधान सभाको विघटनले कलाकारहरुको आवाज र हक अधिकार समेत खोसिएको छ । यस पटकको दोस्रो संविधानसभामा कलाकारहरुको आवाज पनि सुनियोस् । कलाकारलाई प्रयोगको रुपमा मात्रै होइन उनीहरुको आधारभूत आवश्यकता पूर्ति गर्नका लागि पनि राज्यले दायित्वबोध गर्न जरुरी छ । नेपाल संगीत संघ, लोकदोहोरी प्रतिष्ठान जस्ता विभिन्न क्षेत्रले उठाएका मागहरुको सम्वोधन गरियोस् र बनाएका नीति नियमलाई कडाईका साथ पालना गरियोस् ।
साङ्गीतिक बजार खस्कँदो अवस्थामा छ भनिन्छ, झनै पाइरेसीका कुराहरु र कलाकारबीचको प्रतिष्पर्धामा आर्थिक हुनेले मात्रै स्थान पाइरहँदा यो क्षेत्रको दिगो विकास सम्भव छ त ?
सम्बन्धित सर्जगको अनुमति बिना कसैले पनि चोरी गर्नु हुँदैन । रोयल्टी वितरणमा म्यूजिक नेपालले महत्वपूर्ण भूमिका चाल्नुपर्छ । चोरी पैठारीमा केही चर्चित कलाकारहरु नै लाग्ने गरेको पाइएको छ यसको कडाईका साथ निगरानी हुनुपर्छ । नव सर्जक र प्रतिभाहरु लुटिएका छन् उनीहरुलाई खरिदिएको छ । तर यसबारेमा सजग हुन जरुरी छ । प्रचारप्रसारका कुरालाई लिएर अनावश्यक मिडियाको प्रयोग हुने कुराको सतर्कता हुनुपर्छ । आर्थिक रकम पेलेर प्रतिभा नभएकाले अनुहार देखाउने तर जसको कला, गला र प्रतिभा छ, उ सधैं पछि हट्नुपर्ने यस्तो सिस्टमको अन्त्य हुनुपर्छ । यसतर्फ नेपाल सरकारले पनि सोँच्न जरुरी छ । जसले ४ सय २० गरेको छ उ नै माथि जान सक्ने अरु सधैं तल हुनुपर्ने धेरै समय कुर्नुपर्ने समस्याको अन्त्य हुनुपर्छ । अनि मात्र यो क्षेत्रको दिगो विकास सम्भव छ ।
यो क्षेत्रमा लाग्न चाहने नव प्रतिभालाई के भन्न चाहनुहुन्छ ?
हचुवाको भरमा कुनै पनि स्थानमा हात नहाल्नुहोला । काठमाडौं बिगार्ने ठाउँ पनि हो, भने सपार्ने ठाउँ पनि हो । त्यसैले नबुझेर केही पनि काम नगरौं । कला संगीतको माध्यमबाट अघि बढ्न चाहने नै हो भने संगीत सिकेर कला, गला र प्रतिभाको खानी बनाएर मात्रै अघि बढ्नुपर्छ । कहाँ र कसलाई सम्पर्क गरेर अघि बढ्दा ठिक हुन्छ भन्ने कुरामा जानकार हुनुहोस् । शब्द रचना गर्नेहरुका लागि भने हरेकको आफ्नै मापदण्ड हुन्छ त्यसैले आफ्नै मापदण्ड अनुसार शब्द रचना गरौं र कलासंगीतको जगेर्ना गरौं ।
अन्तमा, भन्नै पर्ने केही छन् की ?
सर्वप्रथम तपाई लगायत पत्रिकालाई धेरै धेरै धन्यवाद । नदी निरन्तर बग्छ, त्यो नदीमा गाउँका खहरे पनि आएर मिसिन्छ त्यही खहरे म पनि हो । साङ्गीतिक भीडमा म एक कुनामा हिंडिरहेको छु । ताते ताते गरेर हिंडिरहेको अवस्थामा मैले आफ्नो कलालाई व्यवसायिकता दिन नसके पनि मौलिकपना र रोल्पाको परिवेशमा सजाउने छु । मेरो जन्मभूमिको विकासको लागि यसै साङ्गीतिक दुनियाबाट आवाज उठाउनेछु र यस क्षेत्रमा आउन चाहने नया भाइबहिनीहरुको सदा शुभचिन्तक रहनेछु । मेरो गीत संगीतलाई मायाँ गरिदिने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

0 comments:

Post a Comment