२५, चैत, रोल्पा । महिला हिंसाका घटनामा अझै पनि कमी आउन सकेको छैन । विभिन्न बहानामा महिलामाथि हिंसात्मक घटना आज पनि घटिरहेका छन् । केही समय पहिले बलात्कारका घटनाहरु निकै सतहमा देखिए भने हाल आएर फेरि सामाजिक कुरिती र कुसंस्कार हावी भएपछि घट्ने गरेका घटनाहरु आउन थालेका छन् । रोल्पाको सदरमुकाम नजिकै एक दलित महिलालाई विभिन्न आरोप लगाई जवर्जस्ती सार्वजनिक स्थानमा कालोमोसो दल्ने र दल्न लगाउनेलाई प्रहरीले सार्वजनिक अपराध सम्बन्धीको मुद्धा चलाएको छ । आइतबारबाट ती आरोपितहरुलाई सार्वजनिक मुद्धा चलाएको प्रहरी नायव उपरिक्षक नविनराज राईले बताउनुभयो ।
लिबाङ–४, रेउघाकी ३० वर्षिया नौमाली परियारलाई विभिन्न आरोप लगाई कालो मोसो दल्ने ४ जना उनकै छिमेकी र नाता पर्नेहरुलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको हो ।  पीडित नौमालीलाई कपोकल्पीत आरोप लगाएको र आफूले  आरोप स्वीकार नगर्दा  चैत २७ गते टोल भरिका मान्छे भेला भएर जवर्जस्ती कालोमोसो दलेका थिए । बोक्सीको आरोप लगाएर ती महिलालाई सामाजिक हिंसा भोग्न बाध्य बनाएका थिए ।
घटनाको अर्को दिन चैत २८ गते पीडितले विना कारण आफूलाई अमानवीय व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन दिएपछि प्रहरीले लाले परियार, सुकरा परियार, सुरवीर परियार  र कालुराम परियारलाई  पक्राउ गरी हिरासतमा राखेको छ । घटनाबारे प्रहरीले २९ गते पीडितका आफन्त र अन्य छिमेकीहरुसँग थप जानकारी लिई कालोमोसो दलिदिने ६० वर्षिया कमिनी घर्ती र जवर्जस्ती मोसो दल्न लगाउने ४ जनालाई सार्वजनिक अपराध सम्वन्धी मुद्धाको प्रक्रिया अगाडि बढाएको हो ।
यस आर्थिक वर्षमा मात्रै ६७ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पा अन्तर्गतको महिला सेलले जनाएको छ । जसमध्ये घरेलु हिंसाका ५२ वटा, सामाजिक हिंसाका १२ वटा, बोक्सीको आरोपमा ३ वटा, हराएका महिला तथा बालबालिकाहरु १२ उजुरीहरु परेको महिला प्रहरी हवल्दार सुमीत्रा थापाले बताउनुभयो । उहाँले भन्नुभयो “केही केसहरु हामीले यतैबाट मिलाएर पठाउँछौं भने केही केसहरु मुद्धाफाँटसम्म पूग्न जान्छन् ।” छलफल गरेर आफूहरुकै रोहवरमा समेत धेरै केसहरु मेलमिलाप गराएर पठाएको उहाँले बताउनुभयो । यस्तै हराएका तर्फ ४ जना महिला, ५ बालबालिका र ३ जना पुरुष रहेका छन् । भेटिएका मध्ये  २ महिला र १ बालक परेका छन् । मान्छे हराएका केसहरुमा प्राय महिला र पुरुष वैवाहिक सम्बन्ध राखेर भागेको, महिलाहरुले कसैलाई नभनेर घरबाट हिँडेको, बालबालिकाहरु ईट्टा भट्टा तर्फ, कोही मेलाबाट हराएको उजुरी परेका हुन् । भेटिएका ३ जना मध्ये एक बालक मेलाबाट हराएर फेला परेको र २ महिला घरबाट कसैलाई नभनी भागेको पछि आफैं घरमा आएको उजुरीका आधारमा केटासँग भागेको जस्ता केसहरु आएका छन् । घरेलु हिंसातर्फ बढीमात्रामा श्रीमान, श्रीमति बीचको झगडा, कुटपिट, बहुविवाह, मादव पदार्थ सेवन गरेर श्रीमतिलाई कुटपिट गरेको जस्ता घटनाहरु आएको महिला सेलले बताएको हो । केही मानसिक सन्तुलन ठिक नभएको जस्ता घटनाहरु पनि आउने गरेको महिला सेलकी थापाले बताउनुभयो । प्रायः जसो पुरुषका तुलनामा महिला हिंसाका घटनाहरु नै उजुरीका रुपमा आउने गरेको उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment