१५, चैत, रोल्पा । “जय माँ दुर्गा भवानीले रक्षा गरुन्, यो दशैले शान्ति मौलाओस्” सारङ्गीको धुनसँगै उनी आफैंले रचेको गीत कहिल्यै बजारको गल्लीमा त कहिल्यै गाउँमा गाउँदै हिड्छन् । जब दशै सुरुवातसँगै वर्षमा २ पल्ट चैतेदशै र वडादशैको अवसरमा उनी रोल्पाको सदरमुकाम लिबाङमा दुर्गा जगाउन घरघरमा हिड्छन् यतिवेलासम्म स्थानीयले दशैं मानिसक्छन् तब फेरी घरघरमा केही दक्षिणा माग्न उनी हिँड्छन् । पेशा भनौं या बाबु बाजेले अँगालेको रितीरिवाज र परम्परा, रोल्पामा एक मात्रै यस्ता गन्धर्व छन् जसले गन्धर्व समाजको संस्कृतिलाई बचाउँदै आजसम्म लागिरहेका छन् ।
बुढागाउँ लिङ्दुङ घर भएका हिमकान्त गन्धर्व हाल दाङको नारायणपुरमा बसाई सरेका छन् । तर उनी रोल्पाली भएकाले रोल्पाकै माटोमा रम्न चाहन्छन् । एक छोरा र एक छोरी, एक श्रीमती रहेका गन्धर्व रोल्पाली श्रष्टा भनेर भर्खरै मात्र सम्मानित पनि भए । नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौंको आयोजना तथा राप्ती साहित्य परिषद् रोल्पाको संयोजनमा भएको स्रष्टा सम्मान कार्यक्रममा प्रतिक चिन्ह प्राप्त गरेर सम्मानित हुन पुगेका थिए । आफ्नै मौलिक सिर्जनाका धनी हिमकान्त रोल्पाको प्रतिनिधित्व गरेर राजधानीसम्म पनि पुगेका थिए । केही विदेशी संघ, संस्थाहरुको सहयोगमा भएको एक हप्ते कार्यक्रममा उनी काठमाडौं पुगेका हुन् । उनी भन्छन् “पहिला पल्टा गएको त्यस्तो ठाउँमा गोराहरुले निकै सहयोग गरे, दैनिक १५ सय भत्ता दिन्थ्यो ।” नेपालका विभिन्न जिल्लाबाट गएका मध्ये आफू प्रथम हुन सफल भएको गन्धर्वको भनाई छ । “पाँचतले मन्दीरमा लग्यो त्यहाँ नेवारहरुले स्वागत गरेपछि पाटनमा पास फेल गरायो । ७ दिनका म प्रथम आएँ” रोल्पाबाट काठमाडौंसम्म पुग्नका लागि आफूलाई धेरैले सहयोग गरेको उनी बताउँछन् । आफू प्रथम भएको खुशी पोख्दै उनी भन्छन् । “खै ती गोरेहरुले के के दिन्छन् के के, त्यो हुस्की, ब्रान्डी भन्छन् नी, ७ वटा झोलामा हालीदिए, घर जाउ बुढाबुढीले खाउ भन्छन् नगद २५ हजार र प्रमाणपत्र पनि दिए” हर्षले फुलेका हिमकान्तले त्यहाँबाट रोल्पा फर्केपछि झनै यस संस्कार र संस्कृतिको बचावटका निम्ति लागी पर्ने बताउँछन् । २० सालदेखि दुर्गा जगाउन भन्दै लागेका गन्धर्व पहिले आफ्ना बुवा पन्चराम गन्धर्वसँगै हिड्ने गर्थे । ६३ वर्षिय गन्र्धवले रितीरिवाज जोगाउनका लागि सदरमुकाम लिबाङका कुना कुनामा हिडे पनि केहीबाट मान र केहीबाट अपमान पाएको दुखेसो पोख्छन् । उनी भन्छन् “के गर्नु मईसाप् आज बिहानै मात्रै एउटा मान्छे निकै झोक्कियो एउटा अफिसको मान्छे रैछ, यस्तो पनि के गीत गा’को घिन लाग्दो भनेर रिसायो के गर्नु यस्ता मान्छे त आउँछन् जान्छन् भनेर मैले पनि सहीरहें” मनको पीडा पोख्दै उनी ग्नासो गर्दै थिए । आफ्नो कला र प्रतिभाको केही कदर गरे पनि नयाँ युवा पिढीका केही युवाहरुले घृणा गरेको पनि दुखेसो उनी पोख्छन् । पञ्चायत काल, राणाकाल, जिम्माल मुखिया बाका इतिहास बताउने हिमाकान्तले आफू गन्धर्व भएकोमा गर्व गर्छन् । “उहीलेबाट भगवानले बनाएको हामी ऋषिगन्धर्व हौं । हामी बाहिरैबाट पञ्चामृत खाने, बाहिरैबाट हिड्ने गर्दथ्यौं तर अहिले आएर पो सानो जात भनेर थिँचोमिचो गर्ने गर्छन्” सानो जात भनेर केहीले दक्षिणासम्म दिन मन नपराउने पीडा उनको छ । बुझेका मान्छेले खुला हृदयका साथ उज्यालो मन गरेर दक्षिणा दिए पनि नबुझेको मान्छेले अँधेरो मन गरेर दक्षिणा दिँदा त्यो दक्षिणा आफूले ग्रहण नगरेको उनी बताउँछन् । उनी भन्छन् “जाने पनि नजाने पनि सारङ्गीबाटै तिम्रै गर्छु सेवा एक दिन ता पाईएला मेवा” आफ्नो घरबास नभएपछि अर्काको घरबासमा बस्ने गरेको बताउँदै हिमकान्तले अर्काले दिएको थोरै जग्गामा आफ्नो गुजारा चलिरहेको बताउँछन् । “सारा सम्पत्ति छोराले बेचेर खाईयो के गर्नु दुःखता गर्नै पर्ला” श्रीमति कमला गन्धर्वको साथ पाएर आफूलाई भाग्यशाली ठान्ने हिमकान्तले यो माग्ने पेशाबाट कुनै आयश्रोत नभएपनि रितीरिवाजलाई जीवन्त राख्नकै लागि निकै कठिनाईहरु झेल्ने गरेको बताउँछन् । आयश्रोत नभएको तर पेट पाल्नका लागि बाध्यता र बाबु, बाजेको इतिहासलाई जोगाउनकै लागि संघर्ष गर्नुपरेको उनी बताउँछन् । “आजका गन्र्धवहरुले टीभी, रेडियोका गीत गाउँछन् तर मता आफ्नै भजन, आफ्नै बाबु बाजेले सिर्जना गरेको गीत गाउँछु ।” मञ्चमा निकै गाउन रहर गरेका गन्धर्वले आफूले कहिल्यै मञ्च नपाएको पनि बताउँछन् । “अफिसका मान्छेले सुनेको नसुनी गर्छन् गाउँघरका मान्छेले ओँठ बिग्रेको जस्तो गर्छन् मागीखाने भाँडोता हो भनेर हेप्छन्” नयाँ पिढीहरुले गाएको जस्तो नयाँ गीतहरु भन्दा आफ्नै मौलिकपनामा हिड्न चाहने हिमकान्तले अबका नयाँ युवा जमातहरु यस क्षेत्रमा क्रियाशिल हुन नचाहेको बताउँछन् । तुलसीपुर, काठमाडौं, रोल्पा लगायतका स्थानमा प्रमाणपत्र पाईसकेका हिमकान्तले अझैं आफ्नो ज्यान रहुन्जेल गन्धर्व समाजको उत्थानका लागि उनीहरुको रितीरिवाज जोगाउनका लागि पनि आफू लागीपर्ने अठोट व्यक्त गरेका छन् ।

0 comments:

Post a Comment