२, बैशाख, माडीचौर रोल्पा । सलाई बिना नै आगो बाल्न खोज्दा एकछिन सबैको अनुहार चकित हुन पुग्यो । कसरी बल्छ आगो ? भन्दै खबपु चन्चलले छड्के हान्दै हुनुहुन्थ्यो । पछि हातमा सलाई लिएर ललित साहित्य परिषद्का अध्यक्ष ओम पन्छीले आगो बालेर साहित्यिक बनभोजको औपचारिक उदघाटन गर्नुभयो । चारैतिर करिब ५० जनाभन्दा बढी साहित्यकार, कलाकारहरुको जमघटले माडीचौर साँच्चीकै रमाइरहेको थियो । खोलाको किनारमा प्राकृतिक सुन्दरताको बखान गर्दै नयाँ वर्षको शुभकामना साटदै थिए साहित्यकारहरु । जिल्लाका विभिन्न साहित्यिक संघसंस्थाबाट प्रतिनिधित्व गर्दै सहभागि भएका साहित्यकारहरुले नयाँ वर्षको शुरुवातमा शुभकामना आदानप्रदान मात्रै गरेनन् पुराना दिनको समिक्षा र आगामी दिनमा गर्नुपर्ने कार्यको समेत् सुझाव संकलन गरे । 
           नयाँ वर्षको पहिलो दिन अर्थात् २०७१ साल बैसाख १ गते सोमबारका दिन आयोजना भएको साहित्यिक बनभोजका धेरै साहित्यकारहरुले आआफ्नै कथा, व्यथा र समाजका दर्पणलाई मुक्तक, कविता, गजल, गीत मार्फत् व्यक्त गरे । ललित साहित्य परिषदका अध्यक्ष ओम पन्छीले हरेक वर्षमा झैं यस वर्षमा पनि आफ्नो नेतृत्वमा व्यवस्थापनको जिम्मेवारी लिएको बताउनुभयो । सहभागिहरुबाट मिष्ठान भोजन व्यवस्थापन गरेको प्रशंसा पाईरहेका पन्छीले यस बनभोज कार्यक्रम मनोरन्जनका लागि मात्र नभएर साहित्यिक क्षेत्रको उत्थानका लागि आयोजना गरेको बताउनुभयो । 
              हरेक वर्षमा गरिने यस्ता कार्यक्रममा वार्षिक समिक्षासँगै नयाँ कार्ययोजना सहित अग्रसर हुन पाउने वातावरण बन्ने भएकाले यस्ता कार्यक्रमको महत्व ज्यादै रहेको समेत बताउनुभयो । यस्तै राप्ती साहित्य परिषदका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष डी.बी. टुहुरोले कार्यक्रमबाट संकलन भएका सुझाव सल्लाहलाई संस्थागत गर्दै र व्यवस्थित पार्दै लैजाने बताउनुभयो  । साहित्यिक धरातलमा आफ्नो पुरानो नाम जोड्न सफल भएका लोकआलोकले नयाँ वर्षले नयाँ परिमार्जन गर्नेमा ठोकुवा गर्नुभयो । नयाँ र पुराना श्रष्टाहरुको समिश्रणले रोल्पा जिल्लाको मुहार फेर्नेमा उहाँको जोड छ । यसैगरी प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य गौरीकिरण डाँगीले २०७० साल शुन्यको साल भएता पनि आउने नयाँ सालले सकारात्मक परिवर्तन ल्याउनेमा जोड दिनुभयो । 
           
कार्यक्रमको सञ्चालन गर्दै डाँगीले श्रष्टाहरुको सम्मानका लागि आयोजना गरिएको बनभोज कार्यक्रमले मनोरन्जन मात्रै नभई साहित्यकारको विश्राम र सुख दुःख बाँड्ने थलो भएको समेत बताउनुभयो । कार्यक्रममा ललित साहित्य परिषदका महासचिव केबी बिरहीले शुभकामना दिँदै नयाँ वर्षको अवसरमा महिला साहित्यकारहरुले समेत आउँदो बैसाखमा बृहत कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । विश्वनारी नेपाली साहित्य सम्मेलन राप्ती अञ्चल संयोजन समितिले बैसाख ९ गते कार्यक्रम गर्ने भएको समेत उहाँले बताउनुभयो । जिल्लाका विभिन्न साहित्यिक संस्थाबाट सहभागि भएका साहित्यकारहरुले बनभोजमा रमाईलो गरेर नयाँ वर्ष मनाउनु मात्रै ठूलो कुरा नभएको भन्दै ओझलमा परेको साहित्यिक क्षेत्रको उत्थानका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

0 comments:

Post a Comment