७ माघ, रोल्पा । ‘घरपरिवारबाट मात्रै नभएर राज्यले नै मलाई अपहेलित ग¥यो । १० वर्षे जनयुद्धमा होमिए पनि अयोग्य बहिर्गमित लडाकुको बिल्ला लगाइदिएपछि मसँग आफ्नो खुट्टामा आफैं उभिनुको अलवा कुनै उपाय रहेन । त्यस कारणले पनि म यो पेशा अंगाल्न पुगेँ ।’ यो भनाई हो –पूर्व जनमुक्ति सेनाबाट अयोग्य भई बहिर्गमनमा परेका लडाकु कृष्णा पुनको । एउटी छोरी साथमा लिएर आफ्नो आर्थिक अवस्था दरिलो पार्ने प्रयासमा लागेकी कृष्णाको माइती घर रुकुम हो भने विवाह चाहीं रोल्पाको घर्तीगाउँमा भएको छ ।
अर्का हिंसापीडित बमकुमारी घलेको कथा पनि उस्तै छ । श्रीमानले अर्की श्रीमती ल्याएपछि आर्थिक अवस्था बलियो बनाउन भन्दै बमकुमारीले सिलाई पेशा अंगाल्न पुग्नुभयो । सिप सिकेमा आत्मनिर्भर बन्न सक्ने भन्दै यो पेशा अंगालेको उहाँको भनाई छ ।
यस्तै धाङ्सीकी बुद्धिमाला बुढामगरले आपाङ्ग कोटाबाट यो पेशा सिक्न पाउँदा खुशी भएको बताउनुभयो ।
‘समयमा पढ्न पाइएन, अहिले आएर केही काम पाइँदैन । जे होस् अन्यको तुलनामा यो पेशा राम्रो र महत्वपूर्ण छ । त्यसैले पनि यो पेशा मैले रोजेकी हुँ ।’ यो भनाई हो केशरी घर्तीको ।
छुवाछुत प्रथा अन्त्य गर्नका लागि यो पेशा पनि बलियो आधार भएको बताउनुहुन्छ राधा घर्तीमगर । छुवाछुत प्रथाले जरो गाडे पनि आधुनिकतालाई निरन्तरता दिनुका साथै समाजमा जागरण ल्याउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।
पछिल्ला समयमा महिलाहरु बढीमात्रामा सिलाई कटाई पेशातर्फ आकर्षित भएका छन् । सरकारले महिलाहरुलाई विशेष प्रोत्साहन दिने भन्दै सिलाई कटाई पेशातर्फ बढी केन्द्रीत बनाउन थालेपछि महिलाहरु यस पेशालाई अंगाल्न थालेका हुन् । यो पेशाबाट राम्रो आयआर्जन हुने भएकाले पनि बढी प्रभावकारी बन्न पुगेको हो । छुवाछुतप्रथाको अन्त्य गर्नका लागि पनि यो गतिलो माध्यम बन्न पुगेको छ । द्वन्द्वपीडित, एकल महिला, बहिर्गमित लडाकु, हिंसापीडित महिलाहरुको आर्थिक अवस्था बलियो बनाउन र बेरोजगार युवाहरुलाई देशमै बलियो आधार निर्माण गर्नका लागि सिलाई कटाई पेशाले राम्रो उदाहरण दिएको छ ।  जिल्लामा भएको माग अनुसार रोजगार कोषको सचिवालयको प्रायोजन र दनबस्को सीप विकास केन्द्र काठमाडौंको आयोजनामा ३ महिने तालिम रोल्पाको लिबाङमा जारी रहेको छ ।
तालिममा विभिन्न १३ गाविसका २० महिला र १ पुरुषले सहभागिता जनाएका छन् । जिल्लाका उवा, राँक, ओत, भाबाङ, जङ्कोट, गुम्चाल, राङ्सी, पाखापानी, खुंग्री, धबाङ, लिबाङ, घर्तीगाउँ लगायतका गरी १३ गाविसका महिलाहरु सहभागि भएका छन् । कार्तिक ४ गतेबाट शुरु भएको ३ महिने सिलाई कटाई तालिम माघ २५ गते समापन गरिने प्रशिक्षक मनबहादुर नेपालीले बताउनुभयो । तालिमको प्रशिक्षण मनबहादुर नेपाली र राङ्सी निवासी लिला डाँगीले दिइरहनु भएको छ ।
करिब ५ सय भन्दा बढीलाई तालिम दिइसक्नुभएका मनबहादुरले सिलाई पेशाबाट राम्रो आम्दानी हुने ठोकुवा गर्नुहुन्छ । यस पेशामा राम्रो आय आर्जन मात्रै नभएर समयको पनि बचत हुने र मेहनत बढी गर्न नपर्ने, घरमै बसेर स्वरोजगार बन्न सकिने उहाँको भनाई छ । यसैगरी करिव ५ वर्षबढी यस पेशामा कार्यरत प्रशिक्षक लिला डाँगीले यो पेशा राम्रो भएको बताउनुभयो । यो पेशालाई निरन्तरता दिएमा यसैले आर्थिक समस्या टार्नमात्रै नभई घरपरिवारमा खर्चसँगै बचत पनि गर्न सकिने उहाँको भनाई छ ।
१ सय ४० जनाबाट छनौट गरेर २० जनालाई सहभागि बनाइएको प्रशिक्षक मनबहादुर नेपालीले बताउनुभयो । ती मध्ये १७ जना जनजातिबाट, २ जना अपाङ्ग, सुकुम्बासी १ जना रहेका छन् । ३ जना दलित, त्यस्तै ३ जना अन्य जातिका रहेका छन् । तालिममा गरिबी निवारणले निर्धारण गरेको लक्षित समूह अन्तर्गतका द्वन्द्वपीडित, एकल महिला, अपाङ्ग लगायतको सहभागिता छ । तालिम पश्चात प्रशिक्षार्थीहरुलाई ८ हजार बराबरको मेशिनरी सामाग्री उपलब्ध गराइने बताईएको छ । तालिमपछि सहभागिहरुले स्वयम्ले रोजगारी सिर्जना गरेर बसेको हुनुपर्ने र उक्त तालिमका सहभागिहरुको ९ महिनासम्म काम गरे नगरेको बारे अनुगमन समेत हुने आयोजकले बताएको छ ।
तालिमका सहभागिहरुले सीपमूलक सिलाई कटाई तालिमबाट आफूहरुले जिवीकोपार्जन मात्रै नभएर उदाहरणीय कार्य गरेर देखाउने सोंच समेत गरेको बताएका छन् ।

1 comments: