०८ पौष, रोल्पा । ‘सबैले मलाई बहुलानी भन्छन्, पागल भन्छन् तर म पागल होइन ।’  उनी गहभरी आँसु लिँदै भन्दैथिइन् । जीवनको वास्तविकता कसलाई के थाहा ? तर समाजमा हरेक सकारात्मक कुरालाई पनि फरक र नकारात्मक दृष्टिले हेर्नेहरुको कमी छैन । ढुङ्गाहरु जोडेर मेहनतसँग सानो मन्दिर बनाएर बसेको करिब ६ वर्ष भइसकेको छ उनको ।
रोल्पाको गजुल गाविस वडा नं ९ नेपानेको डाँडामा सानो मन्दिर निर्माण गरेर आफ्नो दिनचर्या बिताइरहेकी श्यामकली थापा क्षेत्रीको जीवनकथा दुःखद् नै छ । ३ छोरी १ छोरा रहेका श्यामकलीको करिब ४५ वर्षको हाराहारीमा उमेर ढल्कीरहेको छ । उनी आफ्नो जीवनको दर्दनाक क्षणका कारण मानसिक सन्तुलन गुमाउन पुगेको बताईन् तर केही समयसम्म मानसिक सन्तुलन स्वस्थ नभएपछि आफूले धर्म, कर्मको नाममा महादेवको मुर्ति स्थापना गरेर त्रिशुल राखी मन्दिर बनाई बसेको उनी बताउँछिन् । उनी भन्छिन् ‘६ वर्ष भयो मैले माछा, मासु, नुन, बाहिर बजारमा पाईने अनेक थरिका खानेकुराहरु नखाएको । धर्म, कर्ममा लिन भएपछि आफूलाई सन्तुलनमा ल्याउने प्रयास गरें तर समाजमा केही ब्यक्तिहरु छन् जसले मलाई नराम्रो दृष्टिले हेर्छन् ।’ यो थापाक्षेत्रीको दुःखेसो हो । दुःखका क्षणमा कसैले साथ दिदैन बरु उल्टै हाँसेर बस्छन् तर मैले कसैको केही बिगारेको छैन न त कसैलाई दुःख नै दिएको छु उनी बताउँछिन् ।
श्यामकलीका श्रीमान भारतको गुजरात स्थित कज भन्ने स्थानमा नोकरी गर्थे । केही समय पहिले भारतमा आएको भू–क्षयका कारण कैंयौ भारतीयहरुमात्रै नभएर नेपालीहरुले समेत ज्यान गुमाउनु परेको थियो । सोही समयमा श्यामकलीले पनि आफ्नो श्रीमान गुमाउनु प¥यो । दुःख, सुख कमाएर खाने गरेका थापा क्षेत्री परिवारमा श्रीमानको अचानक त्यसरी बिपतमा परी मृत्युभएपछि साना छोरा, छोरीको जिम्मेवारी श्यामकलीले बेहोर्नु पर्ने अवस्था आयो । परदेशको भूमिमा आफ्नो श्रीमान गुमाएपछि उनी केही समय दिमागी हालत गुमाउन पुगिन् तर असन्तुष्ट मनलाई बुझाउने धेरै प्रयास गरिन् । लामो प्रयास पछि घर परिवारमा समेत कसैको सहारा पाउन नसकेपछि बाध्यतावश उनी मन्दिर निर्माण गरेर सोही मन्दिरमा दिनचर्या बिताउन थालिन् । ‘संसारको रीत यस्तै रहेछ भन्ने पछि मात्रै थाहा पाए जब मलाई दुःख प¥यो तब कसैले हेरेनन् आखिर दुनिया स्वार्थी रहेछ’ उनी भन्छिन् ।
मन्दिर निर्माण गरेर बस्न थालेपछि आफैंलाई महादेवको भक्त भन्न रुचाउने श्यामकलीको जीवनमा परेको चोटमाथि थप दुःख प्रहार गर्नेहरुको कमी अझैं भएन । श्रीमानको राम्रो जागिर भएको कारण भारत सरकारले पेनसन दिन थाल्यो । श्रीमानको मृत्युपछि त्यही पेनसनले दिनचर्या गर्दै आएकी थापाक्षेत्रीले केही रकम र कानमा लगाएका माडवारी समेत लुटीमागिन् ।
मन्दिरको बाहिर आएर फटाहाहरुले हो हल्ला गर्ने, धेरैले धम्की, डर देखाउने गरेको उनी दुःख पोख्छिन् । आफैंले संघर्ष गरेर खाँदा पनि यसरी धम्की र डर, त्रासमा बाँच्नुपर्ने भन्दै उनी आफ्नै मान्छेको जीवनलाई नै धिक्कार्छिन् । श्यामकलीका एक छोरीको बिहे भइसकेको छ । २ छोरीहरु अविवाहित छन् । एक छोरा छन् । सबैले घरमा काम गरेर दुःख सुखको जोहो गर्दै आएका छन् । उनी पनि घरपरिवारसँग बस्छिन् तर आस्था र धर्मको पालना गर्न भन्दै प्रायः आफूले निर्माण गरेको मन्दिरमा उनको दिनरात कट्ने गरेको छ ।
झ्वाट्ट हेर्दा स्थानीय मात्रै नभएर टाढाकाहरुले पनि बहुलानी मन्दिर भनेर सम्बोधन गर्छन् । तर वास्तविकता बुझनेहरुलाई मात्र थाहा हुन्छ कि ती एउटी पीडित महिलाको पीडा के छ भनेर । समाजमा महिलाहरुलाई गरिने बिभेद मध्येको एक उदाहरण हो उनको जीवनकथा । सामाजिक मनोवृतिले उनलाई नराम्ररी अन्याय गरिरहेको छ । उमेरले डाँडा कट्दा समेत दुःख माथि सहानुभूतिको सातो झन् हेँलामा बाँच्नु उनको लागि जीवन साँच्चै कहाली लाग्दो छ ।

0 comments:

Post a Comment